३ चैत, भक्तपुर । परीक्षा नियन्त्रक विष्णु बहादुर द्वारेले एसलसीमा चिट चोराउने र चोर्नेलाई कडा कारवाही हुने बताएका छन् । रफत सञ्चार क्लव भक्तपुरमा मंगलबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नियन्त्रक द्वारेले परीक्षा ब्यवस्थित र शान्तिपूर्ण ढंगले सञ्चालन गर्न ३५ बुँदे आचारसंहिता तयार पारेर देशभरका जिल्ला शिक्षा कार्यालमा पठाइएकाले आचारसंहिताविपरीत कार्य गर्ने जोकोहीलाई कडा कारवाही हुने बताए ।
आगामी ५ चैत्रबाट सुरु हुने एसलसीको सम्पूर्ण तयारी पूरा भएको बताउँदै ७५ वटै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामाग्री पुरयाइसकिएको जानकारी गराए ।
यस वर्षको परीक्षामा सहभागी हुनका लागि पाँच लाख ७४ हजार ६८५ जना छात्रछात्राले आवेदन दिएको बताउँदै उहँँले यो वर्ष नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी चार लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुने बताए ।
एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी एक लाख ४५ हजार १८३ जना सहभागी हुने उहाँले बताउनुभयो । प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी हुने छन् । परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेको बताए ।
यस वर्ष परीक्षाका लागि देशभरमा गरी एक हजार ८६२ परीक्षा केन्द्र कायम गरिएको जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा १ र १ वटा परीक्षा केन्द्र कायम गरिएको छ । गत वर्ष देशभर एक हजार ८३६ परीक्षा केन्द्र कायम गरिएकामा यस वर्ष परीक्षार्थी बढेकाले केन्द्र पनि बढाएको नियन्त्रक द्वारेले जानकारी दिए ।











