इस्लामाबाद, ३ चैत । पाकिस्तानका विभिन्न जेलमा रहेका कम्तीमा १२ जना अपराधीलाई मङ्गलबार विहान फाँसी दिइएको छ ।पूर्वी पञ्जाब प्रान्तका विभिन्न जेलमा रहेका १० अपराधी र कराँचस्थित दुई जनालाई फाँसी दिइएको स्थानीय उर्दु च्यानलले जानकारी दिएको छ । ती अपराधीलाई झाङ्ग, मेनवाली, रावलपिन्डी, कराँची, फैसलाबाद, गुज्रान्वाला र मुल्तान जिल्लाहरुमा फाँसी दिएको जनाइएको छ ।
मङ्गलबार विहान १४ जना अपराधीलाई फाँसी दिइने सुची तयार गरिएकोमा अन्तिम घडीमा दुई जनालाई सो सुचीबाट हटाइएको थियो ।
उनीहरुलाई आजै फाँसी नदिइएको हो वा फाँसीको सजाय नै मिनाहा गरिएको हो भन्ने बारेमा भने केही बताइएको छैन । फाँसी दिइएका ती व्यक्तिहरुमाथी घरेलु हिंसा र आतङ्ककारी आक्रमणको आरोप लागाइएको थियो । उनीहरु लामो समयदेखि नै जेलमा रहेका थिए ।
गएको छ बर्षयता स्थगित गरिएको फाँसीको सजाय पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले खुल्ला गरे यता कयौँ अपराधीलाई पाकिस्तानमा फाँसीमा झुण्डाइसकिएको छ ।
प्रधानमन्त्रीले उक्त निर्णय प्रान्तीय राजधानी पेसावरमा रहेको एक सैनिक विद्यालयमा तालिवानी आतङ्ककारी समूहले ३४ जना बालबालिकासहित १५० व्यक्तिको हत्या गरेपछि आएको हो ।











