प्रधानमन्त्री सुशील कोइरालाले जग्गाको मुआब्जा विवाद तत्कालै समाधान गरेर निजगढ विमानस्थल निर्माणलाई तीव्रता दिनुपर्ने बताएका छन् । व्यवस्थापिका संसदअन्तरगत विकास समितिको सोमबारको बैठकमा उपस्थिति भएका प्रधानमन्त्री कोइरालाले तत्काल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै प्रक्रियालाई तिव्र गतिमा अघि बढाउनुपर्ने बताए ।
प्रधानमन्त्री कोइरालाले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पटक–पटक आउने समस्याले नेपाल र नेपालीको बेइज्जत भएको भन्दै अब तत्काल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने आश्वासन दिए । प्रधानमन्त्री कोइरालाले सरकार सिस्टममा नचलेको र कर्मचारी प्रशासनमा पनि व्यवसायिकता नभएकाले नेपालमा विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्नुभयो । कोइरालाले विकास निर्माणको ठेक्का दिने हालको प्रक्रिया नै गलत भएको धारणा राख्नुभयो ।
प्रधानमन्त्री कोइरालाई बिभिन्न बाहनामा मुलुकलाई बन्धक बनाएर राख्न नहुने भन्दै सहमतिमार्फत लोकतान्त्रीक संविधान जारी गर्दै मुलकुलाई बिकासको बाटोमा अग्रसर गराउनुपर्ने बताए ।
बैठकमा अर्थमन्त्री डा. रामशरण महतले दुवैआयोजनामा काम भन्दा कुरा धेरै भएको भन्दै अब छिटो निर्माण कार्य सक्नुपर्नेमा जोड दिए । बैठकमा सहभागी एमाले नेता माधवकुमार नेपाल र एकीकृत माओवादी प्रमुख सचेतक गिरिराजमणि पोख्रेलले छिटो मुआब्जा विवाद मिलाएर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं तराई जोड्ने फास्ट ट्रयाक निर्माण प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका थिए ।











