२ चैत, भक्तपुर / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले ३० दलीय मोर्चा वार्ताको बीचबाट आन्दोलनमा जानु विडम्बना भएको बताएका छन्।
रफत सञ्चार क्लव भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विपक्षी आन्दोलनमा जानु गलत भएको बताएका हुन्।
‘मुलुक र मुलुकबासीले संविधान खोजेको बेला चर्काचर्की भएर आन्दोलनमा जानु विडम्बना हो,’ उनले भने। उनले सत्तापक्षले तत्काल प्रक्रियामा नगई विपक्षीलाई वार्तामा ल्याउन पहल गर्नुपर्नेमा जोड दिए। अनन्तकालसम्म प्रक्रियालाई रोकिराख्न नसकिने भएपनि तत्कालका लागि भने प्रक्रियामा जानु नहुने उनले बताए।
‘दुबै पक्षको गल्तीका कारण वार्ता भाँडिएको हो, उनले भने,‘दुवै पक्ष लचिलो भएर फेरि वार्तामा बस्नुको विकल्प छैन्।’ दलहरुबीच मिल्न नसकेको पाँच जिल्लाको विवादलाई पछि सल्टाउने गरी वार्ता फेरि अगाडि बढाउनुपर्ने उनको जोड छन।
नेपाली जनता हड्ताल र आन्दोलनको पक्षमा नरहेको बताउँदै उनले आन्दोलनले कसैलाई फाइदा नगर्ने जिकिर गरे। उनले सरकारले वार्तालाई कायम राखेर आन्दोलनमा जानबाट विपक्षीलाई रोक्न विशेष पहल नगरे देशमा ठूलो संकट निम्तने समेत बताए।
उनले दुई पार्टीबीचको एकीकरण प्रयास सुरु भएपनि एकीकरण भने जटिल रहेको बताए। केहि जटिल पक्ष बाँकी भएकाले तिनलाई समाधान गरेर अगाडि बढ्ने गरी वार्ता भइरहेको उनले बताए। प्रमुख दलहरू असफल भएको पृष्ठभूमिमा नेपाली जनताले विकल्प खोजेकाले त्यसलाई पूरा गर्न दुई पार्टीबीचको एकीकरण अगाडि बढाएका हौ, उनले भने।











