२ चैत, काठमाडौं / संसदीय सुनुवाइ विशेष समितिले लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित पदाधिकारीमाथि चैत ४ गतेदेखि सुनुवाइ गर्ने भएको छ ।समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले चैत ४ गतेदेखि सुनुवाइ गर्ने गरी कार्यतालिका बनाएको छ । समितिको कार्यतालिका अनुसार ४ गते बिहान उजुरीकर्तासँग १५ मिनेट छलफल गरेर लगत्तै लोकसेवा आयोगका प्रस्तावित अध्यक्ष र सदस्यमाथि सुनुवाइ गरिने छ ।
समितिमा लोकसेवा आयोगका प्रस्तावित पदाधिकारी विरुद्ध एउटै उजुरी परेको छैन भने अख्तियारका प्रस्तावित आयुक्त विरुद्ध ६ वटा उजुरी परेका छन् । समितिका सचिव धु्रवप्रसाद घिमिरेले अख्तियारका प्रस्तावित आयुक्त दिप बस्न्यात विरुद्ध ४ वटा तथा गणेशराज जोशी र राजनारायण पाठकविरुद्ध एक/एक वटा उजुरी परेको जानकारी दिनुभयो ।
समितिले अख्तियारका प्रस्तावित आयुक्तमाथि सुनुवाइका लागि चैत ८ गतेको मिति तोकेको छ । संवैधानिक परिषदले गएको फागनु १५ गते लोकसेवा आयोगमा अध्यक्ष र ६ जना सदस्य तथा अख्तियारमा ५ जना आयुक्तको नाम सिफारिस गरेको थियो ।
परिषदको सिफारिसलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि संवैधानिक निकायका पदाधिकारी राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।











