३० फागुन, काठमाडौं । चैत्र २८ गते वाग्लुङमा हुने उपनिर्वाचनमा राप्रपा नेपाल र राप्रपाले संयुक्त उम्मेदवार उठाउने निर्णय गरेका छन् । दुवै पार्टीको शिर्ष नेतृत्वको शनिबार काठमाडौंमा भएको छलफलले संयुक्त उमेदवारीको टुंगो लगाएको जानकारी राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले नेपाल देशलाई दिए । राप्रपा नेपालले आगामी उमेदवारको रुपमा प्रस्तुत गरेको नबिनचन्द्र सर्बुजा मगरको उमेदवारीलाई एकता प्रकृया अघि बढिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण समर्थन गरेको श्रेष्ठले जानकारी दिएका छन् । राप्रपा नेपाल र राप्रपाका धौलागिरी अञ्चल ईन्चार्ज क्रमशः बिदुर खड्का र भिमप्रसाद गौचनलाई समन्वय गर्ने जिम्मा समेत दिएको छ । बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको दिशामा यो निर्णयले विश्वासको वातावरण बनेको दुवै पार्टीका नेताहरूले दावी गरेका छन् । दुवै दलले संयुक्तरूपमा निर्वाचन प्रचारप्रसार गर्ने, विभिन्न ठाउँमा संयुक्त सभा गर्ने र विशेष चुनावी सभालाई राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले संयुक्तरूपमा सम्बोधन गर्ने पनि सहमति दुई दलबीच भएको छ ।
यसैवीच एमाओवादी प्रवक्ता दिनानाथ शर्माले बाग्लुङ १ मा हुने उपचुनाव नलड्ने घोषणा गरेका छन् । एमाओवादीले शर्मालाई उम्मदेवार बनाउने निर्णय गरेको थियो । तर, निर्वाचन क्षेत्रमा जाने क्रममा विरामी परेपछि शर्माले विज्ञप्ति निकालेर चुनाव नलड्ने घोषणा गरेका हुन् ।
यच्च रक्तचाप र मुटुको समस्या बढेपछि शर्माको पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइहेको छ ।










