२९ फागुन, काठमाडौं । काठमाडौंको वसन्तपुरमा दुई छात्रामाथि एसिड प्रहार गर्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गर्न नसकेको जनाएको छ । आक्रमणकारीका विषयमा नयाँ तथ्य बाहिर ल्याउन नसकेको भन्दै प्रहरीले आज पत्रकार सम्मेलन गरेको छ । पीडित छात्राले सहयोग नगरेकै कारण आक्रमणकारी पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । गृहमन्त्री वामदेव गौतमले समेत केही दिन पहिले संसदीय समितिमा पीडित छात्रले सहयोग नगरेकै कारण एसिड हान्नेलाई पक्राउ गर्न नसकिएको जानकारी गराएका थिए । प्रहरीले आज आक्रमणकारी सार्वजनिक गर्न लागेको भन्दै समाचारहरु आएका थिए । यसअघि प्रहरीले प्रहारकर्ताको स्केच सार्वजनिक गरेको थियो भने उसलाई पक्राउ नगरेको भन्दै जनस्तरमा विरोध हुँदै आएको छ ।
सो घटनामा अनुसन्धानको क्रममा २६९ जनासँग सोधपुछ, पारिवारिक कलहका कारण हो कि भन्ने आशंकामा छिमेकका सात घरका १२२ जनासँग सोधपुछ गरेका छन् । त्यस्तै बदलाको भावनाले हुन सक्ने आशंकामा तीन स्कुलका १४७ व्यक्तिसँग सोधपुछ गरिएको छ ।
एसिड आक्रमणका क्रममा आक्रमणकारीको हातमा पोलेको हुनसक्ने आशंकामा प्रहरी टोली विभिन्न अपस्ताल र मेडिकलमा पनि पुगेको जानकारी प्रहरीले पत्रकार सम्मेलनमा दिएको छ ।











