२९ फगुन, काठमाडौ / संविधान निर्माणका विषयमा एमाले र एमाओवादीबिचको तिक्तता कम गर्ने प्रयास स्वरुप आज दुई दलबीच छलफल भएको छ । एमाले अध्यक्ष ओली निवासमा भएको छलफलमा फेरि छलफललाई निरन्तरता दिने सहमति भएको नेताहरुले संचारकर्मीहरुलाई जानकारी दिए । ओलीको तिखो प्रहारबाट रुष्ट बनिरहेको एमाओवादी आज ओली निवासमै गएर सहमतिमा संविधान बनाउनुपर्ने आफ्नो अडान दोहोर्याएको छ । ३ घण्टा लामो छलफलमा नेताहरुबीच केके कुरामा गिभ एण्ड टेक गर्ने छलफल भए होला त ? बाहिर भने यो कुरा गोप्य नै राखिएको छ । दलहरुबीच संविधानमा नमिलेका बिषयबस्तुमाथि खुला ढंगले छलफल भए पनि अर्को बैठकले मात्र टुंगो लगाउने जानकारी एकिकृत नेकपा माओवादीका नेता कृष्णवहादुर महराले दिए । खासगरी संविधान बनेपछि शक्तिको भागवण्डा कसरी गर्ने र तराईका विवादित पाँच जिल्लाका विषयमा कसरी टुंगोमा पुग्ने भन्ने विषयमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ । छलफमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री बामदेव गौतम, उपाध्यक्ष विद्याभण्डारी , महासचिव इश्वर पोखरेल र एकिकृत नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भटराइ , नारायणकाजी श्रेष्ठ, टोप वहादुर रायमाझीको सहभागिता थियो ।
शुक्रबार ओली निवासमा भएको यो छलफल चलिरहँदा भने प्रधानमन्त्री निवास वालुवाटारमा भने कांग्रेस र मधेसी मोर्चाका नेताहरुसँग छलफल भयो । मधेशी मोर्चाले राज्यपुनः संरचना आयोगले यसअघि नै तयार पारेको संरचनामा जानुपर्ने अडान राखेको हो । बैठकमा दुई दलबिच वार्ता र छलफललाई निरन्तरता दिने सहमति भएको छ । संविधानका अन्र्तवस्तुमा दलहरुबिच दुई पक्षिय बहुपक्षीय बैठक गर्दे सहमति खोज्ने प्रयास हुने बैठक पछि नेताहरुले जनाएका छन् । ३० दलीय विपक्षी मोर्चाले भोलि शनिबारसम्म वार्ता गर्ने समयसीमा यसअघि नै तोकिसकेको छ भने सत्तारुढ दलहरुले पनि सहमतिका लागि विपक्षीलाई धेरै कुर्न नसक्ने निष्कर्ष निकालेकाले पनि दलहरुबिचको छलफलले तिव्रता पाएको हो । मधेशकेन्द्रित दल र नेपाली कांग्रेस बीच छिट्टै सहमति जुटाई संविधान लेखन प्रक्रियालाई अघि बढाउने विषयमा सहमति भएको पनि नेताहरुले बताए ।
नेताहरुले पुरानै कुरा रटे पनि शुक्रबार भएका दुई छुट्टाछुट्टै बैठकले एमाओवादी र मेधसी मोर्चालाई फकाउने कांग्रेस एमाले रणनीति भएको विश्लेषकहरु बताउँछन् । एमाओवादी र मधेसी मोर्चालाई सत्तामा साझेदार बनाउने विषयमा एमाओवादीलाई ओलीले फकाउने र मधेसी मोर्चालाई कांग्रेसले फकाउने रणनीति कांग्रेस एमालेको रहेको स्रोत बताउँछ । एमाओवादी र एमालेको तिक्तता कम हुने यो कसरतले संविधान निर्माणको नयाँ आशा जगाएको समेत विश्लेषकहरुको दावी छ ।











