
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संगठन (आइडिए)ले ग्रिड सोलार तथा ऊर्जा सक्षमता परियोजना कार्यान्वयन गर्न १२ अर्ब ९२ करोड ५९ लाख उपलब्ध गराउने भएको छ।
सन् २०१५ भित्रै २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरी काठमाडौँ उपत्यकामा आपूर्ति गरिने उक्त परियोजना नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन गर्नेछ।
ऋण सहयतासम्बन्धी सम्झौतापत्रमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाता र अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरे।
नेपालको गहिरिँदो ऊर्जा संकट केही भए पनि घटाउने उद्देश्यले सहुलियतमा उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराइएको बताउँदै देशीय प्रबन्धक कामाताले भने-जलविद्युत् उत्पादन नेपालको विशेषता एवम् प्राथमिकता हो।
अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखसमेत रहेका सहसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा विश्व बैंकले निरन्तर सहयोग पुर्याएकोमा सरकारका तर्फबाट आभार प्रकट गरे। रासस













