दिनेश ठाकुर
नेपालगन्ज, फागुन ८। घर बगैचा कार्यक्रम अन्तर्गत बंगुर पालन तथा ब्यवस्थापन सम्बन्धी ३ दिने तालिम आज कचनापुरमा सकिएको छ । युएससी क्यानाडा पोखराको सहयोगमा दलित सेवा संघ बाँकेले आयोजना गरेको तालिममा पशु सेवा केन्द्र महादेवपुरीका प्रमुख जय बहादुर कार्कीले सहजीकरण गरेका छन् । पशुपालनमा सक्रियताका लागि आवश्यक तालिम र पशु उपचार बारे प्राथमिक जानकारी हुनुपर्ने कार्कीले बताए । पशु स्वास्थ्य बारे जानकारी नहुँदा रोग लाग्दा समस्या जटिल भएपछि मात्र थाहा हुने भएकोले बेलैमा खोप लगायतको ब्यवस्था गरिराख्न उनले सुझाव दिए । स्थानीय स्तरमा रोजगार प्रवद्र्धन गर्नका लागि सहयोगी ठानिएको सो तालिममा २३ जना महिला पुरुषहरुको सक्रिय सहभागिता रहेको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै दलित सेवा संघका अध्यक्ष कृष्ण बहादुर बिकले बंगुर पालन ग्रामीण क्षेत्रका लागि रोजगारमुखी पेशा भएकाले यस तर्फ चासो देखाउन स्थानीयहरुलाई आग्रह गरे । कार्यक्रममा दलित सेवा संघका सचिव शिव कुमार सुनार, सदस्य मनबिर परियार, संघका गाउँ इकाई कमिटि अध्यक्ष छबिलाल विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । दलित सेवा संघकी सामाजिक परिचालक धनमाया बुढाथोकीले संचालन गरेको तालिममा सहभागीहरुले बंगुर पालनको फाइदा र ब्यवस्थापन गर्ने तरिकाका बारेमा जानकारी दिइएको छ ।













