स्विट्जरल्यान्डको एचएसबीसी बैंकमा अवैध सम्पत्ति राखेको भन्दै स्वीस प्रहरी अधिकारीले सो बैंकमा छापा मारेको छ।बैंकले धनाढ्य व्यक्तिहरुको कर छल्न मद्दत पुर्याएको आरोपलागेपछि स्वीस प्रहरी अधिकारीले बुधबार नै छापा मारेको जनाएको छ।प्रहरी अधिकारीले उक्त बैंकमा छापा मारी मुद्रा अपचलनमा शंका लागेका अज्ञात व्यक्तिहरुका बारेमा छानबिन गरिरहेका छन्।
यसअघि स्विस बैंकमा आठ नेपालीको पाँच अर्ब ४० करोड सम्पत्ति रहेको खुलासा भएको थियो। तर, सो रकम कसले राखेको हो भनेर खुलासा भएको छैन। यता, सरकारले यसबारेमा जानकारी नभएको बताएको छ। व्यवस्थापिका संसदको अर्थ समितिले नेपालीले स्वीस बैंकमा राखेको अवैध सम्पत्ति छानविन गर्न सरकारलाई निर्देशन दिएको थियो। तर नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले स्विस बैंकमा भएको भनिएको कालो धन स्वदेशमा फिर्ता ल्याउन सहज नभएको बताएको थियो।
स्विजरल्यान्डको एचएसबीसी बैंकमा आठ नेपालीको नाममा पाँच अर्ब ४० करोड रहेको भन्ने विषयमा संसद्को अर्थ समितिमा आइतबार जानकारी दिँदै राष्ट्रबैंकका गभर्नर डा। युवराज खतिवडाले उक्त रकम राखिएको खाता देशको विद्यमान ऐनको आधारमा राष्ट्रबैंकको स्वीकृति लिएर सञ्चालन नभएको बताएका थिए।
सांसदहरूको प्रश्नको जबाफमा उनले नेपालमा रहेका विदेशी मुद्रासम्बन्धी ऐनकानुनको व्याख्या गर्दै कतिपय मुलुकको कानुनले विदेशी विनिमय सहज बनाएकोले हाल नेपालमा त्यस्ता मुलुकबाट लगानी भित्र्याइएको बताएका थिए।
बिट्रिस भर्जिन आइल्यान्ड, मोरिसस, साइप्रस, ब्रुनाई, सिंगापुर र हङकङजस्ता खुकुलो विदेशी विनिमय व्यवस्था भएका मुलुकबाट नेपालमा पैसा आउने गरेको जानकारी पनि सांसदहरूलाई उनले गराएका थिए।













