भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा धर्म परिवर्तन बढेकाले भारत चुप लागेर बस्न नसक्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै धर्म परिवर्तनले भारतको सुरक्षा चुनौती बढ्ने भन्दै त्यसलाई रोक्न उचित कदम चाल्ने बताउनुभयो । धर्म परिवर्तनलाई रोक्न प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरूको ध्यानाकर्षण गराएको उहाको भनाई छ । भाजपाका पूर्व विदेश विभाग प्रमुख समेत रहेका जोलीले सहमतिमै संविधान निर्माण गर्न नेपालका राजनीतिक दलका नेताहरूलाई आग्रह गर्नुभयो । भारत सरकार संख्याका आधारमा नभई सहमतिमै संविधान बनोस् भन्ने पक्षमा रहेको पनि उहाले उल्लेख गर्नुभयो ।
नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारी हुँदै नेपालको शान्ति प्रक्रिया अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै उहाले सहमतिको बाटोलाई नछाड्न सुझाव दिनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहमतिबाट संविधान निर्माण गर्न सुझाव दिएको स्मरण गराउँदै नेपाल मामलामा मोदीको धारणामा कुनै परिवर्तन नआएको उहाले स्पष्ट पार्नुभयो । उहाले जातीय पहिचानसहितको संघीयताबारे भाजपाको औपचारिक धारणाबारे सोधिएको प्रश्नमा कस्तो पद्धति, प्रणाली र संघीयतामा जाने बारे नेपाली जनता र राजनीतिक दलले तय गर्ने बताउनुभयो ।