नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभाको विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय सभा गठन गर्न माग गरेको छ ।
३३ दलीय मोर्चाका तर्फबाट बिहीबार नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले एक बिज्ञप्ती जारी गर्दे उत्पीडित, जातिको पहिचानसहितको संघीय गणतन्त्रात्मक संविधान जारी गर्न, राष्ट्रिय स्वाधीनता रक्षा गर्न अधिकार सम्पन्न सर्वपक्षीय सभा गर्न माग गर्नुभएको हो । मोर्चाले संविधानसभाबाट संविधान जारी हुने संभावना विफल हुँदै गएको आरोप लगाउँदै दोस्रो संविधानसभा यथास्थितिवादी र प्रतिगमनकारी शक्तिको हातमा परेको भन्दै संविधानसभा विघटनको गर्न माग गरिएको छ ।
बिज्ञप्तीमा बैठकले ३३ दलीय मोर्चालाई निरन्तरताका साथ अझ सक्रिय बनाउने निर्णय गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
संविधानसभाको विघटन, अधिकार सम्पन्न सर्वपक्षीय सभाको गठन, उत्पीडित जातिको पहिचानसहितको सघीय गणतन्त्रात्मक संविधान, राज्यका सबै अंगमा उत्पीडित वर्ग तथा समुदायहरुको पूर्ण समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय स्वाधीनताको रक्षा र ग्यास, तेल, लोडसेडिङ, भ्रष्टाचार तथा महङ्गीलगायतका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई लिएर संघर्षका कार्यक्रम संचालन गर्ने मोर्चाले जनाएको छ । मोर्चाले आफ्ना नारा,वक्तव्य, प्रचार–प्रसार, गोष्ठीका साथै यही फागुन २५ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।