४ पुस, कपिलवस्तु । भूकम्पमा ढलेको काठमाडौंको धरहराको नमुना कपिलवस्तुमा बनाइएपछि हेर्न आउनेको ओइरो लागेको छ । कपिलवस्तुको जितपुरमा बनाइएको नमुना धरहरा हेर्न मानिसको ओइरो लागेको हो ।
भूकम्पले ध्वस्त पारेको धरहराको झल्को दिनेगरी राखिएको नमुना धरहरा हेर्नकै लागि दिन–प्रतिदिन दर्शकको भीड लाग्ने गरेको छ ।
भूकम्पले काठमाडौंको ऐतिहासिक धरहरा ढलेपछि कहिले–कस्तो बन्ला भन्ने कौतुहलता सबैमा जागिरहेका बेला प्रदर्शनीमा पुरानो धरहराको झल्को दिनेगरी महोत्सवको सचिवालयनजिकै बनाइएको सुन्दर नमुना धरहराले दर्शकको मन तानिरहेको छ । कपिलवस्तुमा जारी महोत्सव तथा कृषि प्रदर्शनीमा राखिएको नमुना धरहरा अहिले आकर्षणको विषय बनेको हो ।
यस वर्षको मुख्य आकर्षककारुपमा धरहरा रहेको दर्शकले नै बताउने गरेका छन् । प्रदर्शनीमा सबै कुरा विगतकै जस्तै भएपनि यस वर्ष राखिएको धरहरा हेर्नकै लागि आफूहरू आएको उनीहरु बताउँछन् ।
हालसम्म जिल्लाबाहिर र भित्रका गरी १ लाख ५० हजार बढी दर्शकले प्रदर्शनीको अवलोकन गरिरहँदा दर्शकको पहिलो नजर धरहरामा जाने गरेको पाइएको महोत्सवका निर्देशक दिनेश क्षत्रीले बताए ।
‘एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशीलता’ भन्ने मुल नाराका साथ नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ मंसिर २३ बाट सुरु भएको हो ।
युवाको संगठन वाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवबाट पाँच करोड रुपैयाँ बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सव बुधबारसम्म चल्नेछ ।