१२ जेठ, काठमाडौं । राज्यलाई नै चुनौती दिंदै गुण्डागर्दीका आडमा सिण्डिकेट चलाउँदै आएका यातायात व्यावसायीहरुले ट्राफिक नियमलाई नै नमान्ने भन्दै नेपाल बन्दको धम्की दिएका छन् । यातायात व्यवसायीहरुका चार महासंघहरुले जेठ १३ गते विहीबार नेपाल बन्द गर्ने धम्की दिएका हुन् ।
ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवानाको विरोधमा विहीबार देशभरका सार्वजनिक सवारी साधन चल्न नदिने उनीहरुले बताएका छन् । व्यवसायीहरुले सार्वजनिक यातायातका साधन नचलाए पनि निजी सवारी साधन निर्वाध चल्ने भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा देशभरका सार्वजनिक भाडाका सवारी साधनलाई रोक लगाउने काम मात्रै हुने सो महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।
निजी सवारी साधनलाई कुनै अवरोध नगर्ने निर्णय भएको पनि खनालले बताए।
उनका अनुसार विहीबार विहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म भाडाका सवारी चल्दैनन् । यो मागलाई पूरा गराउन महासंघ वाहेक नेपाल ट्रक कन्टेनर महासंघ, नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघ र नेपाल यातायात व्यवसाय सर्वोच्च महासंघ एकै ठाउँमा उभिएका छन् । यी चारै महासंघको संयोजकको नेतृत्व खनालले गरिरहेका छन् ।
ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युनतम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागू गरेको छ। त्यसै अनुसार जरिवाना रसिद काट्न सुरु गरेपछि यातायात व्यवसायीहरुले यसको विरोध गरेका हुन् ।
ट्राफिक नियम सबैभन्दा बढी उल्लंघन गरेर दुर्घटना गराउने र त्यसको विरोध गरे सवारी साधन नै नचलाएर जनतालाई दुःख दिने यातायात व्यवसायीको यो भन्दा निल्र्लज्ज कार्य अरु के हुन सक्छ । तर नाकाबन्दीका समयमा तेल तस्करी गरेर समेत यातायात संचालन गरिदिएको भन्दै सरकार समेत उनीहरुसँग लाचार बनिरहेको छ ।