२९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एकता प्रक्रियालाई बलियो बनाएर लैजाने सहमति गरेका छन् ।
निर्वाचनपछि दुई पार्टीबीचको एकतामा समस्या देखिने अड्कलवाजी भैरहेका वेला दुई दलका अध्यक्षले भने एकतालाई बलियो बनाएर लैजाने विषयमा सहमति गरेका हुन् शुक्रबार दिउँसो भएको दुई नेताबीचको छलफलमा सरकार गठन र पार्टी एकताका क्रममा मनमुटाव नआउने गरी अघि बढ्ने मौखिक सहमति भएको हो । तर, पार्टी एकताका लागि केके आधार बनाउने भन्ने कुरा भने उनीहरुले सार्वजनिक गरेका छैनन् ।
सरकार गठन र राष्ट्रि यसभा गठनलगायत विषयमा देखिको अन्योलको समाधान गर्ने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत दुई नेताबीच छलफल भएको छ । हालै सम्पन्न निर्वाचनमा दुई दलले सोचेजस्तो परिणाम ल्याउन सकेको निष्कर्ष समेत दुई नेताले निकालेका छन् ।
निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम अनुसार एमाले पहिलो, माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा छ । प्रतिनिधिसभामा एमालेले ८० सिट जितेको छ भने माओवादी केन्द्रले ३६ र कांग्रेसले २३ सिट जितेका छन् । समानुपातिक मतपरिणाम आइसकेपछि कुन दलको कति सिट पुग्ने हो भन्ने निश्चित हुने र त्यसपछि सरकार गठनबारे निष्कर्षमा पुग्ने निर्णय पनि दुई नेताहरुले गरेको दुवै नेताका सचिवालयले जनाएका छन् ।
निर्वाचन सम्पन्न भएपछि शुक्रबार दुई नेताबीच पहिलो औपचारिक छलफल भएको हो ।