८ मंसिर, काठमाडौं । निर्वाचन बहिष्कारको रणनीतिमा रहेको विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार नेपाल बन्दको आयोजना गरेको भन्ने हल्लाले शुक्रबार मानिसको दैनिक क्रियाकलापमा केही असहजता सिर्जना गरेको छ । देशभर बम आक्रमणमा उत्रिएको विप्लव माओवादीको बन्दप्रति त्रसित रहेका संघ, संस्था तथा निजी विद्यालयहरुले आज स्कुल समेत बन्द गरे । तर विप्लव माओवादीले भने शुक्रबार बन्दको घोषणा नगरिएको जनाएको छ । त्यस्तै पूर्वजनमुक्ति सेनाका नाउँमा बन्दको घोषणा गरिएको हल्ला समेत चलेको थियो । तर सो संगठनले समेत बन्द आयोजना नगरिएको जनाएको छ ।
बन्दको हल्लाले देशभरका संघ, संस्था, कार्यालय, शैक्षिक संस्थानका नियमित काममा असर देखिएको छ । कतिपय विद्यालयमा आज परीक्षा रहे पनि सो परीक्षा सार्नुपरेको ती विद्यालयले जनाएका छन् । कक्षा ६ देखि १० सम्मको परीक्षा चलिरहे पनि बन्दको हल्लाले गर्दा शुक्रबारको परीक्षा शनिबारका लागि सारिएको ललितपुरस्थित लिटिल एन्जेल्स् स्कुलका प्रधानाध्यापक मुकुन्द शर्माले जानकारी दिए ।
बन्दको निराधार हल्लाका कारण मानिसहरुको पूर्वनिर्धारित यात्रालगायतका कार्यहरु प्रभावित भएका छन् । तर सम्बन्धित पक्षले नै बन्दको आयोजना नगरिएको स्पष्ट पारेपछि शुक्रबार विहानदेखि नै देशभरको जनजीवन भने सामान्य भएको छ ।