७ मंसिर, महोत्तरी । आफूले काठमाडौंंमा आलिशान घर बनाएर बस्ने तर मधेसी जनतामाथिको विभेदको अन्त्य गर्ने नारा दिएर मधेसी जनतालाई आन्दोलनमा उक्साएका केही मधेसी नेताहरुले फेरि अर्को विभेदको घोषणा गरेका छन् । महोत्तरीमा आज घोषणापत्र सार्वजनिक गरेको मधेसकेन्द्रित दल राजपाले मधेसको ठूलो समस्याका रुपमा रहेको दाइजो प्रथालाई बढावा दिने तथा चुनाव जित्ने हतियारका रुपमा दाइजोलाई नै प्राथमिकता दिएको छ । आज सार्वजनिक गरिएको घोषणापत्रमार्फत राजपाले दाइजोलाई प्राथमिकता दिँदै उमेर पुगेका वा १२ कक्षा उत्तीर्ण गरेका युवतीलाई आधा तोला सुनको मंगलसूत्र वा सो बराबरको रकम दिने घोषणा गरेको हो ।
कार्यक्रममा राजपा नेपालका संयोजक महन्थ ठाकुरले विभेद अन्त्य र संविधान संशोधनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई भोट हाल्न आग्रह गरे ।
आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारसमेत रहेका ठाकुरले मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएको तथा अन्य पीडित वर्गको समुदायलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अपरिहार्य रहेको र संविधान संशोधन भएपछि विभेदको अन्त्य हुने भएकाले राजपालाई जिताउन आग्रह गरे । नेता ठाकुरले देशमा विभेदको अन्त्य र संविधान संशोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताए ।
राजपाका अर्का नेता राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई राजपाको प्रदेश सरकार बनेमा सो सरकारले रु ५० लाख दिने आश्वासन दिए ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा चुनावी घोषणापत्र सार्वजनिक गरिएको थियो ।