नेपालमा कम्युनिस्ट शासन आउनै नसक्ने कांग्रेसी जिकिर
२२ कात्तिक, नेपालगञ्ज । हिन्दू राज्य र राजतन्त्रको एजेण्डा बोकेर धर्मनिरपेक्ष र गणतन्त्रको संविधान कार्यान्वयन गर्न बारम्बार सरकारमा गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालले लोकतन्त्र र संविधानप्रतिको निष्ठाका आधारमा लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताएका छन् ।
लोकतान्त्रिक गठबन्धन, बाँकेद्वारा वुधबार नेपालगञ्जमाआयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, “फरक फरक विचार र राजनीतिक मतभिन्नता भए पनि लोकतन्त्र, राष्ट्रियता र मुलुकको समृद्धिका पक्षधर दलबीच लोकतान्त्रिक गठबन्धन निर्माण भएको हो ।”
“पार्टीबीचको एकतालाई आफूहरूले सकारात्मकरुपमा लिने गरेको भए पनि जुन परिस्थितिमा वाम एकता र चुनावी गठबन्धन भएको छ, यसले नेपाली राजनीतिकमा संशय र आशंका उत्पन्न भएको छ” उनले थपे ।
लोकतन्त्रको विकल्प खोज्ने र नेपाललाई कम्युनिस्ट मुलुक बनाउने गठबन्धनका नेताहरूको उद्घोषलाई आम नेपाली जनताले अस्वीकार गर्ने जिकिर उनले गरे ।
नेपाली कांग्रेसकी नेतृ किरण कोइरालाले नेपालमा कम्युनिस्ट शासन आउनै नसक्ने तर्क राख्दै प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले अधिकांश स्थानमा जीत हासिल गर्ने दावी गरिन् ।