१६ साउन, भक्तपुर । भक्तपुरको हनुमन्ते खोलाले जग्गा दलालहरुको कृदृष्टिलाई चुनौति दिँदै खोला पुरानै बहाव बग्न थालेको छ । जग्गाका कारोबारमा संलग्न गिरोहले गएको जेठ २६ गते राति पाँच डोजर प्रयोग गरेर रातभरमा प्राकृतिक बहावभन्दा उत्तरतर्फ फर्काएको हनुमन्ते यही साउन १५ गतेको बाढीबाट पुरानै मार्गमा फकिएको हो । जग्गा दलालहरुले रातारात फर्काएको खोलाले डेढ महिना नपुग्दै चुनौति दिएर आफ्नो वहाव समातेको हो । सोमबारदेखि खोला पूर्णरुपले पुरानै धारमा फर्केको छ ।
साउन १४ गते भएको वर्षापछि आएको बाढीले नयाँ कायम गरिएको खोलाको बाँध भत्काएर पुरानै मार्ग समातेको हो । बाँध भत्किएपछि पुरानो र नयाँ दुवैतर्फबाट २४ घण्टाजति बराबर पानी बग्दै आएकामा आजदेखि भने पूर्णरुपमा खोला दक्षिणतर्फ सरेको छ ।
भक्तपुरका थिमि र बालकोटबीच भएर बग्ने हनुमन्ते खोलाको धार परिवर्तन गर्ने विषयमा दुवै पक्षबीच लामो समयदेखि पटक पटक विवाद हुँदै आएको थियो । त्यस क्षेत्रमा खोलाको धार परिवर्तन गर्ने विषयलाई भएको विवाद निरुपण गर्ने सिलसिलामा अदालतमा मुद्दा विचाराधीन रहेको बताइएको छ ।
पछिल्लो पटक जबर्जस्ती रुपमा बालकोट क्षेत्रका केही व्यक्तिको अगुवाइमा हनुमन्ते फर्काइएपछि थिमि र बालकोटवासीबीच विवाद र झडपसमेत भएको थियो । अहिले पुरानो र नयाँ कायम गरिएको खोलाको बहावले जमिन कटान गरेपछि बीचको भाग टापुमा परिणत भएको छ । भक्तपुरको निकै लामो क्षेत्रमा हनुमन्तेले बेलाबखत आफैं पनि क्रमशः धार परिवर्तन गर्दै आएको स्थानीयवासीको भनाइ छ, जसबाट आवादी र भोगचलनमा केही विवाद उत्पन्न हुँदै आएको छ ।
खोलाको नयाँ धार कायम गर्ने पक्षले भने २०२१ सालको नापीअनुसार नै खोलाको बहाव परिवर्तन गरेको जिकिर गर्दै आएका छन् । अर्कातर्फ थिमिवासीले भने हनुमन्तेको बहाव परिवर्तनको समस्या थिमिमा मात्रै नभएर शिरदेखि दोभानसम्मको भएकाले यसका लागि एकैखाले निर्णयको आवश्यकता रहँदै आएको बताएका छन् । अहिले हनुमन्ते प्राकृतिक बहावका क्षेत्रमा सुसाइरहेको छ । जेठ २६ मा कायम गरिएको बहाव क्षेत्र कमिला हिँड्ने बगरमा परिणत भएको छ । यसले प्रकृतिलाई कसैले जित्न सक्दैन भन्ने सन्देश दिएको छ ।