अभय राई
१४ साउन, विराटनगर । नेपाली फुटबल टोलीको कप्तान समेत जन्माइसकेको विराटनगरको एक चर्चित क्बल विगत चार वर्षदेखि राष्ट्रिय प्रतियोगिताविहीन अवस्थामा रहेको छ । तर विराटनगरको यो क्बललाई पुनर्जीवन दिनका लागि त्यस क्षेत्रका केन्द्रीय नेता,पूर्वमन्त्री, महानगरका पदाधिकारीहरु तथा समाजसेवी लागि परेका छन् ।
त्यो क्बल हो विराटनगरमा रहेको सम्राट स्पोर्टिङ्ग क्लब । आफ्नो सक्रियतालाई बढाउने उद्देश्यसहित सम्राट क्बले महानगरपालिकास्थित नवनिर्मित आफ्नो भवनको संचालनमा ल्याएको छ । नेपाली कांग्रेसका सांसद एवं पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले शनिबार विराटनगर पोखरियास्थित उक्त क्लबको भवनको औपचारिक रुपमा उद्घाटन गरे ।
क्लबको नयाँ भवन ८ धुर जग्गामा करिब २२ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । उद्घाटनका क्रमा बोल्दै सांसद रिजालले आफ्नो सांसद विकास कोषबाट क्लबको भवन निर्माणका लागि दुई पटक गरी ११ लाख ६० रुपैयाँ उपलब्ध गराएको बताए । त्यस्तै पूर्वअर्थमन्त्री एवम् कांग्रेस सांसद महेश आचार्यले १ लाख रुपैयाँ उपलब्ध गराएको क्लबका सभापति किरण गिरीले जानकारी दिए ।
सम्राट क्लब २०५५ सालमा स्थापना भएको हो । क्लबको भवन निर्माणका लागि जग्गा स्व. प्रदीप खनालले उपलब्ध गराएको क्लबका संरक्षक सन्तोष बानियाँले उद्घाटन कार्यक्रममा जानकारी दिएका थिए ।
क्लबको भनव उद्घाटन कार्यक्रममा विराटनगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, कांग्रेसको मोरंग जिल्ला सचिव नागेश कोइराला, एमालेका पूर्वजिल्ला अध्यक्ष महेश रेग्मी, एन्फाका केन्द्रीय सदस्य वसन्त अर्याल, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कटुवाल, वडा नम्बर १ का अध्यक्ष एवं क्लबको पहिलो अध्यक्ष उद्धव अर्याल लगायत सहभागी थिए ।
सम्राट स्पोर्टिगं क्लब एन्फा आवद्ध क्लब हो । एन्फाले ए डिभिजन, बी डिभिजन र सी डिभिजन गरी तीन तहमा क्लबलाई वर्गीकरण गरेको छ । क्लबले राष्ट्रियस्तरमा पछिल्लो चार वर्षदेखि सहभागिता जनाएको छैन । यसअघि २०७१ साल वैशाखमा तेश्रो उदयपुर गोल्डकपमा सहभागिता जनाएको थियो । उक्त प्रतियोगिताको उपाधि भिडन्तमा स्थान बनाएको क्लब तत्कालिन अफ्रिकन युनाइटेडसंग दुइ शुन्यले पराजित हँुदै उपविजेतामा सिमित बनेको थियो । उक्त प्रतियोगितामा सम्राटले अन्तिम चारमा धरान फुटबल क्लबलाई दुइका विरुद्ध तीन गोलले र प्रतियोगिताको पहिलो खेलमा काठमाडौंको सरस्वती युथ क्लबलाई एकका विरुद्ध दुइ गोलले पराजित गरेको थियो ।
राष्ट्रियस्तरमा देवनारायण चौधरी, पारस चौधरी, पूर्व राष्ट्रिय कप्तान सागर थापा, अनन्त थापा, भोलानाथ सिलवाल, युगलकिशोर राईले विभिन्न प्रतियोगितामा क्लबबाट सहभागिता जनाइसकेका छन । पाँच पटक मोरंग जिल्लाका लिग विजेता यस क्लबमा हाल २० जना युवा खेलाडी नियमित प्रशिक्षणमा रहेका छन् । विराटनगरमा हाल मोतीराम, मुनाल, युनाइटेड, मिल्स क्लब गरी कुल ७ वटा क्लब रहेका छन् ।