३१ असार पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले निर्वाचनका लागि तयारी थालेको छ । २ नं प्रदेशमा असोज २ गते हुने निर्वाचनको तयारीस्वरुप अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायतका नेताहरु यतिवेला मधेसको वातावरण तयार पार्न गाउँगाउँतिर लागेका छन् ।
शनिबार पर्साको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा पुगेका ठाकुरले आफूहरु निर्वाचनका लागि तयार
भएको बताए । मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन आफूहरु तयार रहेको उनको भनाइ थियो । संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गरे । ठाकुरले सहमतिको कुरा गरे पनि उनी निर्वाचनमा जानुपर्ने अवस्था आएको मनस्थितिमा देखिन्थे । निर्वाचन आयोगले शनिबार नै ठाकुर संयोजक रहेको राजपलाई दल दर्ता गर्ने निर्णय गरेको छ ।
ठाकुरले कार्यक्रममा केही कार्यकर्तालाई पार्टी प्रवेश समेत गराएका थिए । विभिन्न पार्टी परित्याग गरी राजपा नेपालमा प्रवेश गरेकाहरुलाई संयोजक ठाकुरले फूलमाला र टीका लगाई स्वागत गरेका थिए ।
राजपा पर्साका संयोजक पुरुषोत्तमलाल झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका प्रवक्ता एवम् प्रभावशाली नेता विमल श्रीवास्तव, नेजामुदिन समानी, शशिकपुर मियाँलगायतले यथास्थितिमा स्थानीय तह निर्वाचनमा सहभागी नहुने जिकिर गरे ।