१३ माघ, काठमाडौं । विद्युत प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा विद्युत चुहावट चोर्ने ठूला उद्योगी, नेता तथा माथिल्लो तहका कर्मचारीको संलग्नता रहेको रहस्य खुल्न आएको छ । महानगरी प्रहरीको अपराध महाशाखाले पक्राउ गरेका प्राधिकरणका कर्मचारीमार्फत ठूला व्यक्तिको संलग्नता खुल्न आएको हो । कांग्रेस र एमालेका कर्मचारी संगठनमा संलग्न ती व्यक्तिहरुलाई कांग्रेस र एमालेका माथिल्लो तहका नेताहरुको संरक्षण रहेको खुल्न आएपछि केही पूर्वमन्त्री, नेता, व्यापारी र माथिल्ला कर्मचारीको निद्रा हराएको छ । यस काण्डमा पूर्वउर्जामन्त्रीदेखि केन्द्रीय नेता समेत तानिने अवस्था रहेको जनाइएको छ ।
ठूलो तहका व्यक्तिहरुको समेत पहिचान भैसकेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताएका छन् । खनालले भने ‘ठूला माछाका रुपमा माथिल्ला कर्मचारी र नाम चलेका व्यापारीहरु समेत देखिएका छन् । विद्युत्त चुहावट गर्नेहरु लोडसेडिङ बढाउने किरा हुन, यिनीहरुलाई हामी छाड्दैनौँ । केही दिनमा अरु केही ठूला माछालाई नियन्त्रणमा लिँदै छौँ ।’
हाल पक्राउ परेका प्राधिकरणका कर्मचारीले समेत वर्षौंदेखि मिटर विगारेर अकुत सम्पत्ति कमाएको खुल्न आएको समेत प्रहरीले जनाएको छ । उनीहरुले राजनीतिक आडमै मिटर विगारेर अकुत सम्पत्ति कमाएको अनुसन्धानमा देखिएको छ ।
विद्युत्त प्राधिरकण हेटौंडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधानको स्थायी घर सर्लाहीको हरिपुर–९ भए पनि उनले वीरगञ्जमा आलिसान महल बनाएका छन् ।
लामो समयदेखि हेटौंडा वितरण केन्द्रमा काम गर्दै आएका प्रधानको हेटौंडामा पनि ठूलो घर छ । विद्युत प्राधिरणको केन्द्रीय कार्लायबाट हेटौंडा पुग्ने उच्च तहका कर्मचारीहरु उनकै घरमा बस्ने गरेको रहस्य खुलेको छ । यसले माथिल्ला कर्मचारीको संलग्नता समेत देखिएको छ ।
एमाले निकट कर्मचारी युनियन (ट्रेड युनियन) का सल्लाहकारसमेत रहेका प्रधानको पेशा मिटर रिडर मात्रै भए पनि नेता तथा माथिल्ला कर्मचारीलाई प्रभावमा पारेर सरुवा बढुवादेखि अन्य ठूला कमिसनका काम समेत उनले गरेको पाइएको छ ।
विद्युत प्राधिकरण बालाजुको सुपरभाईजर हुन् सुमन श्रेष्ठ । काठमाडौं महानगरपालिका–२८ स्थायी घर भएका श्रेष्ठ उमेरले ५० पुगे पनि प्राधिकरणमा उनले दादागिरी मच्चाउँँदै आएका थिए । विहान सबेरै कार्यालय जाने र राती अवेरसम्म पनि कार्यालयमा बस्ने श्रेष्ठले आफ्नो गाडीमा प्राधिकरणको अस्थायी अफिस खोलेका थिए । मिटरमा उल्लेखित युनिटभन्दा कम युनिटको बिल बनाउने, मिटरको युनिट अंक घटाउने लगायतका प्राविधिक सामग्री उनको गाडीमा भेटिएका थिए । प्रहरीले उनको गाडीसमेत नियन्त्रणमा लिएको थियो ।
२५ वर्ष प्राधिकरणमा जागिर खाएका श्रेष्ठले मिटर उल्टो घुमाएर बिल घटाएबापत प्रतिमहिना कुनै ग्राहकबाट १० हजार त कुनैबाट २५ हजारसम्म कमिसन लिने गरेका थिए ।
विद्युत्त चुहावट गर्ने कर्मचारीहरुमा नेपाली कांग्रेस निकट कर्मचारी संघका केन्द्रिय सदस्यदेखि कोषाध्यक्षसम्म रहेको पाइएको छ । पक्राउ परेका बरिष्ठ सहायक दिल बहादुर साउद प्राधिरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा कार्यरत हुन् । अछामको भट्टाकाटिया स्थायी घर भएका साउदले काठमाडौँको कोटेश्वरमा भव्य महल बनाएका छन् । उनी कांग्रेस निकट कर्मचारी संघको केन्द्रीय सदस्य हुन् ।
प्राधिकरणको केन्द्रिय कार्यालयमा मिटर रिडरको रुपमा कार्यरत मनिज श्रेष्ठले बानेश्वरमा घर बनाएका छन् । उनी कांगे्रस निकट कर्मचारी संघको केन्द्रिय कोषाध्यक्ष हुन् ।
हेटौंडाबाट पक्राउ परेका महादेव प्रधान एमाले निकट कर्मचारी युनियनको सल्लाहकार रहेको पाइएको छ । प्राधिकरणबाट अवकास पाएका टहल बहादुर कार्कीले अवकास पछि पनि विद्युत चुहावटको धन्दा रोकेका थिएनन् ।
तिनै टहल बहादुरमाथि निगरानी राखेर अनुसन्धान शुरु गरेको प्रहरीले दुई जना अवकास प्राप्त कर्मचारी सहित दश जना बहालवाला प्राधिरकणका कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ ।
नुवाकोटको चार घरे स्थायी घर भएका ओम ढुंगाना प्राधिकरण केन्द्रीय कार्यालयका मिटर रिडर हुन् । बालाजुस्थित रानीवन बस्दै आएका ढुंगानाले विद्युत चुहाट गरेर पाँच वर्षमै काठमाडौंमा दुईओटा घर बनाएका थिए ।