२४ असोज, काठमाडौं । चलचित्र निर्माताले नयाँ युवतीलाई नायिका बनाउने लोभ देखाउँदै पत्नी बनाउने र युवतीले पनि नेपाली चलचित्रमा टिक्नका लागि निर्मातासँग विहे गर्ने प्रवृत्तिको पछिल्लो उदाहरण बनेका छन् निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेल । यस्तै कारणले जोडिएको छवि र रेखा थापाको सम्बन्ध टुक्रिएपछि छविको सम्बन्ध शिल्पासँग जोडिएको हो ।
मिस कोशी बनेर काठमाडौं पसेकी रेखाका लागि चलचित्रमा चम्किनु थियो भने पत्नीको मृत्युपछि एक्लिएका छविलाई पनि पत्नीको आवश्यकता थियो । यस्तो आवश्यकताले छविसँग विवाह गरेकी रेखा चलचित्रमा स्थापित भएपछि अलग्गिइन् । अनौठो त कतिवेला भयो भने जब रेखाले छविसँग विवाह नै नगरेको भन्दै उनलाई त्यागिन् ।
तर, रेखाले त्याग्दैमा छविलाई के समस्या ? उनले भेटाए पतिसँग सम्बन्धविच्छेद गरेर बसेकी शिल्पालाई । करिब एक दशकसम्म छविसँग एकसाथ रहे पनि रेखाले उनीबाट कुनै सन्तान पनि जन्माइनन् र अन्त्यमा छोडिदिइन् ।
अहिले चलचित्र निर्माता छवि र नायिका शिल्पा एकैसाथ बस्दै आएका छन् भने उनीहरुले दसैंको टीकाको दिनमा विवाहलाई औपचारिकता दिँदै छन् । शिल्पासँग छविले चौथो विवाह गर्न लागेका हुन् भने शिल्पाले दोस्रो । अघिल्ली पत्नीहरुबाट जन्मेका छविका पनि सन्तानहरु छन् भने शिल्पाकी एक छोरी ।
छविकी पहिली पत्नीसँग सम्बन्ध विच्छेद भएको थियो भने दोस्री पत्नी गीताञ्जली सुनारको मृत्यु भएको थियो । सुनारले आत्महत्या गरेको भनिए पनि छविले उनलाई यातना दिएका कारण मृत्यु भएको सुनारका माइती पक्षले दावी गरेका थिए । माइती पक्षको दावीकै कारण छविलाई कानुनी कारवाही समेत अघि बढाइएको थियो । सुनारको मृत्यसम्बन्धि समस्या सल्टाएपछि छवि फेरि चलचित्र निर्माणमा फर्केका थिए । चलचित्र निर्माणमा फर्केको केही समयमा उनले रेखा थापासँग विवाह गरेका थिए ।
वैवाहिक जीवनको यस्तो पृष्ठभूमि भएका निर्माता छवि र उदियमान नायिका शिल्पाको दाम्पत्य जीवन दीर्घकालीन बन्ला या कथा दोहोरिएला ? त्यो भने समयकै गर्भमा छ ।