१७ जेठ, ललितपुर । सरकारको आज आइतबार देखि भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय सञ्चालन हुँदैछन् । राजधानी काठमाडौं लगायत भूकम्प प्रभावित जिल्लामा सरकारले दिएको निर्देशनअनुरूप शिक्षक र व्यवस्थापन समितिहरू विद्यालय संचालनको तयारीमा छन् । तर, भूकम्पबाट भौतिक संरचना ध्वस्त भएका धेरैजसो विद्यालयमा अझै अस्थायी कक्षाकोठाको व्यवस्था हुन नसक्दा पठनपाठन सुरु भइहाल्ने अवस्था छैन । राजधानीका कतिपय विद्यालयका भवनहरु भत्किएका कारण अस्थायी टहरामा कक्षा संचालन गर्ने तयारी विद्यालयहरुले गरेका छन् । ललितपुरको लिट्टील एञ्जेल्स स्कुलको विद्यार्थी पढ्ने भवनमा कुनै क्षति नपुगेको जानकारी प्रधानाध्यापक मुकुन्दराज शर्माले दिएका छन् । जेम्स, जेन्ट जेभियर्स लगायतका निजी स्कुलका भवनमा भूकम्पले क्षति पुर्याएको छ । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीको डिल्लीबजारस्थित सुर्योदय स्कुलको भवन समेत पूर्णरुपले क्षति भएको छ । देशभरका पाँच सय निजी विद्यालयमा क्षति पुगेको प्याब्सनको तथ्यांक छ । राजधानीका कतिपय सामुदायिक विद्यालयहरु समेत टहरा बनाउन जुटेका छन् । टहरा बनाउने काम नसकिएकोले कतिपय सामुदायिक विद्यालयले बीस गतेसम्म कक्षा संचालन गर्ने बताएका छन् ।
कतिपय सामुदायिक विद्यालयको टहरा निर्माणमा गैरसरकारी संस्थाले सहयोग गरेका छन् । बालखेलका सामग्री, विज्ञान प्रयोगशाला, डेस्क, बेञ्च र पुस्तकालय निम्ति टेबल पनि त्यस्ता संस्थाले उपलब्ध गराएका छन् ।।
‘यसरी बनाइएका हरेक टहरामा दुई कक्षाकोठा संचालन गर्ने तयारीमा ललितपुर पाटन ढोका पाटन उच्च माविका प्रधानाध्यापक ईश्वरमान बज्राचार्य बताउँछन् ।
भूकम्पबाट विद्यालय भवन चिरा परेपछि सानेपास्थित ज्ञानोदय बालबालिका विद्यालयले अन्तै भाडाको भवन व्यवस्था गर्दैछ । यस विद्यालयमा विद्यार्थीलाई पठनपाठन निम्ति जेठ २० देखिमात्र बोलाइएको छ ।
ललितपुर जिल्लाको दक्षिण भेगका अधिकांश दुर्गम पहाडी गाविसमा पढाइ सुचारु हुने सुरसार छैन । भट्टेडाँडा, चन्दनपुर, माल्टा, घुसेललगायत १९ दुर्गम गाविसका अधिकांश माटाढुंगाका विद्यालय भवन मर्मत हुन सकेका छैनन् । तिनमा अस्थायी टहरा बनाउने क्रम जारी छ ।
शिक्षा कार्यालयबाट खटिएको प्राविधिक टोलीले जिल्लाका ३ सय ३९ वटा सामुदायिक विद्यालयलाई रातो स्टिकर दिएको छ । निजीतर्फ ललितपुरमा मात्रै २ सय ७० मध्ये आधाजसोको जाँच गर्नै बाँकी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।