१९ चैत, काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव सुब्रमण्यम जयशंकर विहीबार काठमाडौं आइपुगेका छन् । उनले राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालादेखि लिएर केपी ओली र प्रचण्डलाई समेत भेट्ने कार्यक्रम छ ।
उनले अन्य विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि भेट गर्ने कार्यक्रम छ ।
भारतीय विदेश सचिव जयशंकरले नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय हितका बारेमा छलफल गर्ने बताइएको छ ।
भारतले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको सहुलियत ऋण तथा पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा पनि छलफल हुने बताइएको छ । हुलाकी राजमार्गको अघि बढ्न नसकेको कामका विषयमा पनि छलफल गर्न जयशंकर नेपाल आएको भारतीय पक्षले जनाएको छ ।
गत अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा एक अर्ब अमेरिकी डलर सहुलियत ऋण दिने घोषणा गरेका थिए ।
यस्तै, गत साउनको विदेशमन्त्रीस्तरीय वैठकमा नेपाल भारतबीच पञ्चेश्वर परियोजना अघि बढाउने सहमति भए पनि प्रक्रिया अघि बढ्न सकेको छैन । उक्त परियोजनाको प्रक्रिया अघि बढाउने बारेमा पनि भारतीय विदेश सचिव जयशंकरले छलफल गर्ने परराष्ट्र स्रोतले बताएको छ ।
भारतले पञ्जेश्वर परियोजना लगायतका विषयमा छलफल गर्न मात्र विदेश सचिवलाई नेपाल पाठाएको मान्दैनन् विदेश मामिलाका जानकारहरु । राष्ट्रपति डा. रामवरणले गरेको चीन भ्रमण र चीनले गरेको प्रदान गरेको अनुदान रकमपछिको राष्ट्रप्रमुखको मनस्थिति बुझ्न भारतले जयशंकरलाई नेपाल पठाएको स्रोत बताउँछ । राष्ट्रपति यादव र एमाओवादी अध्यक्ष प्रचण्ड चीन गएर फर्केपछिको अवस्था बारे बुझ्न र कुराकानी गर्न भारतले विदेश सचिवको कार्ड फ्याँकेको एक विशेषज्ञ वताउँछन् ।