३० फागुन, वारा । सात वर्षीय वालिकाको बलात्कारपछि मृत्यु भएका कारण आन्दोलनमा उत्रिएका कलैयाका आन्दोलनकारी र स्थानीय प्रशासनबीच छ बुँदे सहमति भएको छ ।
सहमतिसँगै बेटी बचाउ अभियानले कलौया आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ भने मृतक बालिकाको अन्त्येष्टि गर्न परिवार सहमत भएको छ ।
शनिबार भएको वार्तामा सुरक्षा समितिको बैठक बसेर मतृकको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको छ । आन्दोलनकारीले १० लाख क्षतिपूर्ति माग गरेका थिए ।
कलैयामा केही समयदेखि बढेको अपहरण, बलात्कार र हत्याका घटनाबारे अध्ययन गरी सुरक्षा ब्यवस्था कडा पर्ने तथा जिल्ला प्रहरी कार्यालय र बारा उद्योग बाणिज्य संघको सहकार्यमा मुख्य चोकहरुमा सीसीटीभी जडान गर्ने लगायतको सहमति पनि भएको छ ।
यसैगरी केही समयअघि भएको आशिष गुप्ताको हत्यामा संलग्नतालाई छिट्टै पक्राउ गर्ने प्रतिवद्धता स्थानीय प्रशासनले जनाएको छ ।
वार्तामा प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, बेटी बचाउ अभियानका संयोजक पूर्वसभासद प्रमोद गुप्ता, मृतक बालिकाका बाबु नारायण साह, उद्योग बाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिति थियो ।
साहकी ७ वर्षकी छोरीको फागुन ८ गते बलात्कार भएको थियो । शुक्रबार साँझ हराएकी बालिका शनिबार अचेत अवस्थामा भेटिएकी थिइन् ।
उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएर कान्ति बाल अस्पताल भर्ना गरिए पनि कोमामा उपचारका क्रममा २४ गते निधन भएको थियो ।