नरेश सर्राफ/बारा २८ फागुन
७ बर्षीया बालिका बलात्कार गर्ने व्यक्तिलाई मृत्यु दण्डको सजाय हुनु पर्ने माग गर्दै बाराको कलैयामा प्रदर्शनमा उत्रेका प्रदर्शनकारी र प्रहरी बिच आज दिउसो झडप भएको छ । झडपमा आधा दर्जन भन्दा बढी महिला घाईते भएका छन । जिल्ला प्रशासन कार्यालय अगाडि हातमा झाडु लिएर प्रदर्शन गरिरहेका महिलाहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा सात जना महिलाहरु घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि सुरक्षामा खटिएका प्रहरी माथि प्रदर्शनमा सहभागीहरुले झाडु र ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको बाराका प्रहरी नायव उपरिक्षक रविन्द्र रेग्मीले दाबी गरेका छन । प्रदर्शनकारीहरुले कलैया ६ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि पनि टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सात वर्षिया बालिका पूजा साहको बलत्कारको आरोपमा पक्राउ परेका कन्हाई गुप्तालाइ प्रहरी हिरासतबाट बाहिर निकालेर जनतालाई सुम्पिन माग गरेका छन् । प्रदर्शनकारीहरुबाट कुनै अप्रिय घटना हुन नदिनको लागि बारा प्रहरीले जिल्ला प्रशासन कार्यालय, कांग्रेस पार्टी कार्यालय अगाडि र भरत चोकमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । प्रदर्शनमा सर्वसाधरण महिलाहरुका साथै महिला अधिकारकर्मीहरुको पनि सहभागीता रहेको छ । प्रदर्शनमा सहभागी महिलाहरुले हातमा घरेलु हसिया, घैटो, झाडु र चुरा लिएर कलैया नगरको परिक्रमा गरी कलैया बजार बन्द गराएका छन । कलैया बजार बन्द गराउदै प्रदर्शन गरिरहेका महिलाहरुले व्यवसायीहरुलाई समेत आन्दोलनमा आउन आग्रह गरेका थिए भने पुरुषहरुलाई चुरा बाटदै प्रदर्शन गरेका छन । यहाको चेलीबेटी असुरक्षित भएपनि आन्दोलनमा कलैयाका अधिकांश पुरुषहरु सहभागी नजनाएपछि उनीहरुले चुरा बाटदै गरेका छन । महिला प्रदर्शनकारीहरुले बलात्कारीलाई फासी देउ नाराबाजी गर्दै प्रदर्शन गरेका छन । यसैबिच कलैयाको भरत चोकमा बेटी बचाउ संघर्ष समितिले आज तेश्रो दिन पनि बलात्कृत बालिकाको शव सहित धर्ना र प्रदर्शन जारी राखेको छ । संघर्ष समितिको आह्वानमा कलैया बजार हिजो दिउसो देखि नै बन्द रहेको छ । समितिले बलत्कारीलाई मृत्यु दण्ड दिने कानूनी प्रावधानको व्यवस्था कानुनमा उल्लेख नभए सम्म बालिकाको शव नजलाउने अडान राखेको छ । समितिले कलैयाका बलात्कार र हत्याका घटनाहरुको वैज्ञानिक अनुसन्धान गर्नुपर्ने, नैतिकताको आधारमा गृहमन्त्री राजीनामा दिनुपर्ने, हत्या भएका सम्पुर्ण बालबालिकाहरुको परिवारलाई तत्काल १० लाख क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने, कलैया नगरपालिका भरी नाईट भिजन सिसिटिभि क्यामरा जडान हुनुपर्ने, बालबालिका बलात्कारीलाई मृत्युदण्डको संवैधानिक व्यवस्था गर्नुपर्ने, आशिष गुप्ता र दरबार घटनाको हत्यारालाई सार्वजनिक गर्नुपर्ने लगायतको मांग राख्दै चरणबद्ध रुपमा शव सहित धर्नामा बसेका छन ।
पर्सामा पनि एक महिला बलात्कृत
बलात्कारको घटनामा संलग्नलाई मृत्यु दण्डको सजायमा माग उठिरहेको बेला पर्सामा पुन एक महिला बलात्कारको शिकार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको सुवर्णपुर गाविस वडा नम्बर १ की ३० वर्षिया महिला वडा नम्बर ६ का ४६ वर्षिय राम प्रसाद न्यौपानेले बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बुधबार दिउसो २ बजे आफनै खेतमा खांस काटि रहेको अवस्थामा सुस्तमनस्थितीकी ती महिलालाई न्यौपानेले बलात्कार गरेका हुन । बलात्कारको आरोप लागेका न्यौपानलेलाई प्रहरीले आज विहान पक्राउ गरेको हो । पिडित महिलाको अभिभावकले दिएको उजुरीको आधारमा न्यौपानेलाई पक्राउ गरिएको प्रहरी चौकी सुर्वणपुरले जनाएको छ । पक्राउ परेका न्यौपाने स्वंयले पनि आफुले बलात्कार गरेको स्वीकार गरिसकेको प्रहरी नायव उपरिक्षक वीर बहआदुर ओलीले बताउनु भयो । पिडित युवतीको उजुरीको आधारमा हिजो सँझ न्यौपानेको घरमा जादा उनी फरार रहेको र खोजतलाशका क्रममा उनलाई आज बिहान दुइ बजे गँउकै खोला नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवस्यक अनुसन्धान अघी बढाइएको प्रहरी नायव उपरिक्षक वीर बहादुर ओलीले बताउनु भयो । पिडित युवतीको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र रिपोर्ट आए कारवाहीको प्रकृया अगाडी बढाईने प्रहरी नायब उपरिक्षक ओलीले बताउनु भयो ।