एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पहिचानमा आधारित संविधान निर्माण गर्ने जनअपेक्षामा गम्भीर आशङ्का उत्पन्न भएको बताउँदै एकताबद्ध हुन शेर्पा समुदायलाई आग्रह गर्नुभएको छ ।शेर्पा समुदायले नयाँ वर्षको आरम्भका रुपमा मनाउने ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले संविधान निर्माणको यस घडीमा जनपक्षीय र परिवर्तनकामी संविधान निर्माणका लागि आआफ्नो ठाउँबाट एकजुट भई खबरदारी गर्न आग्रह गर्नुभएको छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा समेत मनाइने यो चाडले देशमा पहिचानसहितको संविधान निर्माण र समृद्धि स्थापना गर्ने प्रेरणा मिल्नेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । रासस